बुटवल । सङ्घीय सांसद मेटमणि चौधरी विरुद्ध बैङ्किङ कसुरमा जाहेरी परेको छ । दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद चौधरीविरुद्ध चेक अनादरमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुन तिमिल्सिनाले हुलाक मार्फतबाट सांसद चौधरीविरुद्ध चेक अनादरमा जाहेरी आएको बताए । उनले भने, ‘हुलाकबाट जाहेरी आएको हो तर त्यो भेरिफाई गर्न बाँकी छ, सांसद चौधरीविरुद्ध ५ करोड ४० लाखको चेक अनादरको जाहेरी परेको हो ।’
उनी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) उपमहासचिव समेत हुन् । उनी प्रतिनिधिसभा निर्वाचन, २०७९ मा दाङ १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । प्रहरीले कहाँबाट कसले उजुरी हालेको भन्ने विस्तृत विवरण खुलाएको छैन ।