काठमाडौँ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीसहित ६ खेलाडीलाई ‘रिटेन’ गरेको छ ।
उनलाई पुनः मार्की खेलाडीको रूपमा रिटेन गरेको सुदूरपश्चिमले शनिबार जनाएको छ । दीपेन्द्रको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स गत सिजन फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।
उनलाई यस सिजनका लागि निरन्तरता दिँदै दीपेन्द्रको प्रभावकारी नेतृत्वप्रति भरोसा कायम राखेको रोयल्सले विज्ञप्तिमार्फत जनाएको छ ।
सुदूरपश्चिमले राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउदलाई रिटेन गरेको हो ।
त्यस्तै अर्जुन कुमाल, नरेश बुढाथोकी, खडकबहादुर बोहरा, भोजराज भट्ट, अमित श्रेष्ठ र वसन्त खत्रीलाई रिलिज गरिएको छ । सुदूरपश्चिमको पहिचान बोकेको टोलीले टिम निर्माण प्रक्रियालाई अझ सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ ।